समाचार विवरण

बडा दशैंको शुभकामना

कात्तिक ८, २०७७

नेपालीहरुको ठूलो चाड बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

दशैं नेपालीहरुको मौलिक पर्व हो । यो पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व हो । नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव,भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएका छन् । नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दशैंले सद्भाव,मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । व्यक्ति,परिवार र समाजलाई एकताको मालामा जोड्ने दशैं पर्वको मौलिकता जोगाउन सक्नुपर्छ । पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्छ । मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन हामी सबैले ध्यान दिऔं,जसले समाजलाई एकताको सुत्रमा बाँध्न सकिन्छ । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ ।

राजनैतिक दलहरुको अगुवाईमा सबैको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै अघि बढेको छ । यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेका छौं । केही साता अघि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै सिंगो प्रदेशले अपनत्व गर्ने वातावरण बनाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका हुँदा प्रदेशको साझा मनोविज्ञान तयार भएको छ । संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशको नाम र राजधानीको टुंगो लगाएर हामी नयाँ विन्दुमा आएका छौं,जसले फराकिलो यात्राको ढोका खोलेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

 विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ले यतिखेर सिंगो समाज पिल्सिएको छ । कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले निकै मिहिनेतपूर्वक काम गरिरहेका छन् । कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई जोड दिइरहेका छांै । नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बडा दशैंलाई घरभित्रै मनाऔं । बडा दशैंमा हुने ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरौं । । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दशैं सहितका पर्वलाई विगतमा झै भव्य र उल्लासमय वातावरणमा मनाउने नै छौं ।

अन्त्यमा, बडा दशैंको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलय शुभकामना । 


शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ कार्तिक ८