समाचार विवरण

तिहार पर्वका शुभकामना

कात्तिक २८, २०७७

तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपाली समाजमा चाडपर्वले पारिवारिक मिलन र सामाजिक सद्भावका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सुत्रमा बाँधेर गतिशिल बनाउनु हाम्रा चाडपर्वका विशेषता हुन् ।

 तिहार पर्व नेपाली समाजको मौलिक पर्व हो । यसले पारिवारिक स्नेह, प्रेम र भातृत्व बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तिहार पर्वको मौलिक पक्षलाई ध्यान दिदैं अघि बढ्न सक्दा यो पर्वको सांस्कृतिक महत्व अझै स्थापित हुनेछ । समाजमा बढ्दो उपभोक्तावादी  प्रवृति र चिन्तनले चाडपर्वको मौलिक पक्ष हराउँदै जान थालेका छन् । तिहारको मौलिकता जोगाउँदै अघि बढ्दा नयाँ पुस्तालाई अमू्ल्य उपहार हुनेछ । परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृतिबाट मुक्त गर्दै मनाऔं । बढ्दो तडकभडक र विकृतिपूर्ण क्रियाकलाप रोक्न  राज्यलाई सहयोग गरौं । सामाजिक मूल्य मान्यतालाई जोगाउँदै मौलिक ढंगले चाडपर्व मनाऔं । 

संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै यतिखेर हामी संविधानको सफल कार्यान्वयनको दिशामा अग्रसर छौं । सिंगो प्रदेशले अपनत्व महशुस गर्ने गरी प्रदेशको नाम र राजधानी टुंगो लगाइएको छ । संघीयताको मर्म र भावना अनुसार नाम र राजधानीको टुंगो लगाएर   प्रदेशको साझा मनोविज्ञान तयार भएको छ । संघीय शासन प्रणालीको मर्म र भावना अनुसार अघि बढ्दै गर्दा फराकिलो यात्राको ढोका खोलिएको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन साधन श्रोत र जनशक्तिलाई अधिकतम रुपमा परिचालन गर्दै तहगत सरकारहरुले काम गरिरहेका छन् । कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिदै अघि बढेका छांै ।  कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन नागरिककको सार्थक सहयोगको आवश्यकता छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै तिहार पर्वलाई मनाऔं, कोरोनाबाट आफूँ जोगिऔं, अरुलाई पनि जोगाऔं ।

अन्त्यमा, तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलय शुभकामना । 

मिति २०७७ मंसिर १