समाचार विवरण

छठ पर्वको शुभकामना

मंसिर ५, २०७७

छठ पर्वको अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

नेपाल भौगोलिक मात्रै नभई सांस्कृतिक विविधतायुक्त मुलुक हो । विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । विभिन्न समुदायले मनाउने पर्व र संस्कृतिले विविधतायुक्त समाजलाई एकताको मालामा बाँध्न संभव भएको छ । समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भातृत्व,सहकार्य र मेलमिलापको वातावरण बनाइरहेका छन् । कुनै समुदाय विशेषले मनाउने पर्व अब कुनै समुदाय विशेषका मात्रै रहेनन् । कुनै समुदाय विशेषले महत्वका साथ मनाउने पर्व अहिले सबै नेपालीको साझा बन्दै गएका छन् । समुदाय विशेषका पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्नुपर्छ । कुनै क्षेत्र र समुदाय विशेषको छठ सबैको साझा पर्व बनेको छ । यो पर्वले समाजलाई एकाकार भई अघि सकारात्मक बल प्रदान गरेको छ ।

छठले समाजमा भातृत्वको वातावरण बनाउन मात्रै नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको छ । सूर्य, नदी, पोखरी—तलाउ जस्ता प्रकृतिका अमूल्य उपहार छठ पर्वमा प्रयोग हुन्छन् । त्यसैगरी,यो पर्वमा प्रयोग गरिने कृषि उत्पादन ग्रामीण अर्थतन्त्रका एउटा आधार हुन् । मानिस र प्रकृतिबीचको सन्तुलित सम्बन्धले मात्रै उज्यालो भविष्यको आशा गर्न सकिन्छ । मानिस र प्रकृतिबीचको असन्तुलनले  मानिसको मात्रै नभएर अन्य जीवजन्तुको समेत भविष्य अनिश्चित हुन्छ । तसर्थ प्रकृतिका अमूल्य उपहार मानिस सहित सबै प्राणीका लागि हो । अहिलेका लागि मात्रै नभएर भविष्यका लागि पनि हो । छठ पर्वले दिन खोजेको यो सन्देशलाई आत्मसात गर्दै अघि बढौं । 

कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको पहलकदमीमा सबैको सार्थक सहयोगको खाँचो छ । कोरोना नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य सम्बद्ध सबैप्रति म यस अवसरमा उच्च सम्मान व्यक्त गर्दछु । कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिदै अघि बढेका छांै ।  स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दैनिकी अघि बढाउँदा कोरोनाबाट आफूँ जोगिन र अरुलाई पनि जोगाउन सकिन्छ । छठ पर्वलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाउन म हार्दिक अपील गर्दछु ।

अन्त्यमा, छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।