समाचार विवरण

मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिकोे हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विविधतायुक्त नेपाली समाजमा मकर संक्रान्ति तथा माघी पर्वलाई ठूलो पर्वको रुपमा मनाइन्छ । थारु समुदायले माघीलाई मुख्य पर्वको रुपमा धुमधामसंग मनाउने गर्दछन् । मगर र छन्त्याल समुदायले पनि यो पर्वलाई निकै महत्वका साथ मनाउँदै आएका छन् । यी दुई समुदायबाहेक अरु समुदायले  मकर संक्रान्तिको रुपमा यो पर्वलाई मनाउँदै आएको पाइन्छ । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले पारिवारिक मिलन,बन्धुत्व,एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको  छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुन्छ । यही मान्यतालाई संवैधानिक रुपमा व्यवस्था गरेर हाम्रो लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको छ ।

मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढिरहेको छ । संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर पाएका छन् । नागरिकले अधिकारको व्यवहारिक अनुभूति गर्न पाउँदा नै लोकतान्त्रिक शासन प्रणालीप्रति अपनत्व अझ बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि हामी प्रतिबद्ध रहँदै अघि बढेका छौं । संघीय सरकारले लिएको समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य लिएको छ । योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश, खुसी जनताको लक्ष्यमा पुग्न सहयोगी भूमिका खेल्न सबै राजनैतिक दल,व्यवसायी, पेशाकर्मी, नागरिक समाज, सञ्चारकर्मी एंव सबैमा हार्दिक अपील गर्दछु ।

प्रतिनिधिसभाको विघटन भई आगामी बैशाखमा चुनावको घोषणा भएपछि यतिखेर मुलुक चुनावी अभियानमा अघि बढेको छ ।  सरकार सञ्चालनका लागि अनेक अप्ठारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक छ । लोकतन्त्रमा चुनाव अनिवार्य शर्त हो । घोषित चुनावलाई सफल रुपमा सम्पन्न गर्न सक्दा हाम्रो लोकतन्त्र सबल र समुन्नत हुन्छ । तसर्थ हामी सबै आगामी प्रतिनिधिसभाको चुनावलाई सार्थक र सफल बनाउन मिलेर अघि बढ्ने विश्वास लिएको छु ।

अन्त्यमा, मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।