समाचार विवरण

जहानियाँ राणा शासनको अन्याय र अत्याचारबाट नेपालीलाई मुक्ति दिलाएर प्रजातन्त्र स्थापनाको लागि अमर शहीदले प्राणको आहुति दिएका हुन् । प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्ने गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द लगायत सम्पूर्ण ज्ञात—अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शहीदले देखाएको न्यायपूर्ण र समतामुलक समाज निर्माणको अभियानमा अविचलित ढंगले लाग्न प्रतिबद्ध रहँदै यो अभियानमा  हामी सबै एकाकार भएर अघि बढ्ने विश्वास लिएको छु ।
अन्याय र अत्याचारको अन्त्य र न्याय, स्वतन्त्रता र समतामुलक समाज निमार्णको लागि ज्यानको आहुती दिने शहीदकै योगदानले नेपालमा तीन ठूला राजनैतिक परिवर्तन संभव भएका हुन् । २००७ सालको जनक्रान्तिबाट १०४  वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको प्रार्दुभाव भयो । प्रजातन्त्रको घाँटी निमोठेर २०१७ सालमा स्थापना गरिएको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भयो । २०६२।०६३ को लोकतान्त्रिक आन्दोलनले राजतन्त्रलाई विस्थापित गरी मुलुकमा गणतन्त्र संभव भएको हो । यी सबै राजनैतिक आन्दोलनमा ज्यानको आहुति दिने वीर शहीद अमर छन् ।

 संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक राज्यव्यवस्थाको व्यवस्था स्थापना गरेको छ । संविधानले नागरिकका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गरेको छ । संविधानमा व्यवस्था गरिएका नागरिकका यी मौलिक हक कार्यान्वयन गर्न राज्य बलियो हुनुपर्छ । बलियो राज्यले मात्रै नागरिकको मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्छ ।  विकास र समृद्धि मार्फत राज्यलाई बलियो बनाउने र नागरिकका सपना पूरा गर्न दृढ छौ । 
यतिखेर मुलुक आम चुनावमा होमिएको छ । सरकारले आगामी बैशाखमा दुई चरणमा चुनाव गर्ने गरी प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेको छ । बहुमत प्राप्त प्रधानमन्त्रीलाई घेराबन्दी गरी काम गर्न नदिई ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय स्वाभाविक छ । ताजा जनादेशका लागि जनतामा जाने निर्णय लिनु लोकतान्त्रिक विधि हो, नागरिक सर्वोच्चताको सम्मान हो । आगामी चुनावले बहुमत प्राप्त प्रधानमन्त्रीले काम गर्न नपाउने दुष्चक्रको अन्त्य गरी राजनैतिक स्थिरताको ढोका खोल्ने विश्वास लिएको छु । आवधिक चुनाव संविधान कार्यान्वयनको महत्वपूर्ण खुट्किलो हो । यसले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने छ । 

यतिखेर हामी समृद्ध प्रदेश खुशी प्रदेशवासीको अभियानमा अघि बढिरहेका छौं ।  प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा पुग्न सक्दा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।