समाचार विवरण

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुख, शान्ति,समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । 

नेपाली नागरिकको लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । नेपालको संघीय शासन प्रणाली मौलिक खालको शासन प्रणाली हो । संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं । प्रदेश सरकारले शून्यबाट काम थाल्दै अघि बढ्दै गर्दा यो तीन वर्षको अवधिमा शासन प्रणालीको बलियो आधार तयार गर्न सफल भएको छ । प्रदेश सरकार नागरिकको नजिकको सरकारको रुपमा स्थापित हुन सफल भएको छ । यो अवधिमा प्रदेशको आवधिक योजना तयार भएको छ । सरकार सञ्चालनका लागि चाहिने आधारभूत कानून निर्माण गर्न सफल हुँदै सहज यात्राको बाटो तयार भएको छ । कर्मचारी समायोजन टुंगो लागेर प्रशासनिक संरचना क्रियाशिल भएको छ । प्रदेशको राजधानी र नाम सबैले अपनत्व महशुस गर्ने गरी विवादरहित ढंगले टुंगो लगाउन सफल भएका छौं । प्रदेशको राजधानी राप्ती उपत्यकामा प्रदेश स्थापना दिवसको औपचारिक कार्यक्रम गर्दैछौं । शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुग्दा एउटा छुट्टै खुशीको क्षणमा छौं । 

 संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दती र शैलीका रुपमा स्थापित हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् । 

संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । प्रत्येक तहका एकल सहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न बुझाई र काममा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य अझै बढाउन जरुरी छ । संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन अझ व्यवस्थित र प्रभावकारी गर्न हामी ध्यान दिइरहेका छौं । 

समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको छ । संघीय सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित छौं । प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

अन्त्यमा, प्रदेश स्थापना दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।