समाचार विवरण

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा  मनाइदै आएको छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनैतिक चेतना र जागरण विस्तारको अभियानका रुपमा मनाइदैं आएको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था  र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले  गरेको संघर्ष अतुलनीय र अविस्मरणीय छ । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाईमा मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको फराकिलो  दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको हार्दिक सम्मान व्यक्त गर्दछु । 

विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको हो । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना छ । महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई  संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी अघि बढिरहेका छौं ।

अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ । कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान संभव छ । यस वर्षको महिला दिवसको नारा महिलाको सुरक्षा सम्मान र रोजगार ःसमृद्ध नेपालको आधार रहेको छ । संविधानको सफल कार्यान्वयन गर्दै महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

अन्त्यमा, १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सबै महिला दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।