समाचार विवरण

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 नेपाली समाज विविधताले रंगिएको छ । विभिन्न जाति र समुदायका पर्व र उत्सवले समाजलाई उज्यालो बनाएका छन् । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व हुँदै गएका छन् । एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो बन्छ । बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र  मेलमिलाप अझै बढाउन आवश्यक छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ । अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ । यतिखेर मुलुक संविधान कार्यान्वयनको  महत्वपूर्ण दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुने छ । अधिकारको उपभोग गर्ने वातावरण बन्दा नै लोकतान्त्रिक शासन प्रणाली संस्थागत र बलियो हुन्छ । सबैले अधिकारको व्यवहारिक रुपमा उपभोग गर्न पाउँदा नै लोकतान्त्रिक शासन व्यवस्थाप्रति अपनत्व महशुस हुन्छ ।

यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोभिड—१९ विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारको सबै संयन्त्र प्रयोग भएको छ । महामारी तीब्र फैलिएकोले त्यसको नियन्त्रणका लागि सबैको सार्थक सहयोग आवश्यक छ । सरकारले खोप अभियान सञ्चालन गर्दै अघि बढेको छ । खोप अभियानलाई प्रभावकारी अघि बढाउन सबैको सक्रिय भूमिका हुने मैले विश्वास लिएको छु । बकर ईद पर्व मनाउँदा  स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी मनाऔं । कोरोनाबाट आफूँ पनि बचौं, अरुलाई पनि बचाऔं ।

 अन्त्यमा, बकर इद पर्वको अवसरमा अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । 

शंकर पोखरेल मुख्यमन्त्री मिति २०७८ साउन ६