समाचार विवरण

२५६५ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा २५६५ वर्ष अघि अर्थात इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ ।  मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारण तथा समाधानको उपायको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम बुद्धले भातृत्व र मानव कल्याणका लागि समाजलाई महान दार्शनिक विचारवाट दिक्षित गर्नु भयो । र, मानिसलाई सत्कर्मको बाटोमा हिडाउन सफल हुनु भयो । बुद्धका उपदेशहरु आज  वुद्ध दर्शनको रुपमा स्थापित भएका छन् । बुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमुल्य निधि भएका छन् ।
प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरुको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन् । माटो मुनि दविएर रहेका ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ । बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट,रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवा लगायतका स्थलको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको छ । यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम अघि बढाउनुपर्ने छ । पर्यटन प्रवद्र्धन मार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि एक वर्ष अघि प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ लुम्बिनी भ्रमण वर्ष कार्यक्रम सञ्चालन गरेको थियो । यतिखेर विश्व कोरोना भाइरस विरुद्ध लडिरहेको छ । कोभिड–१९ विरुद्ध हामी कठिन संघर्षमा छौं । कोरोना विरुद्धको संघर्षलाई सार्थक बनाउन अहिले निधेषाज्ञा जारी गरिएको छ  । कोरोना भाइरसको जोखिमको कारण बुद्ध जयन्तीमा  लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना गरिएको छैन् । निषेधाज्ञा नागरिकलाई कोरोना संक्रमणबाट जोगाउनका लागि हो । निधेषाज्ञाको  पालना गरी कोरोना विरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय छ । अहिले सरकारले संक्रमण रोक्न र संक्रमितको उपचारलाई प्रभावकारी बनाउने गरी काम अघि बढाइरहेको छ । सरकारले अघि सारेका यी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न नागरिक सहयोग महत्वपूर्ण रहेको छ । तसर्थ धेरै खालका अप्ठारालाई बिर्सेर संक्रमण रोक्न, संक्रमितको आत्मबल बढाउन र उपचारलाई प्रभावकारी बनाउन सबैले  सहयोगी भूमिका खेलौं । यस अवसरमा कोभिड—१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी एंव अग्रमोर्चामा खटिएका सबैलाई म उच्च सम्मान व्यक्त गर्दछु ।
२५६५ औ बुद्ध जयन्तीको अवसरमा पुनः सम्पूर्ण दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
१२ जेठ, २०७८