समाचार विवरण

बुटवल । कोरोनाभाइसरले विश्वका अधिकांश मुलक लकडाउनमा छन् । कोरोना संक्रमण त्रासले नेपाल पनि चैत ११ गतेबाट लकडाउनमा छ । यसबीचमा धेरै क्षेत्र प्रभावित बनेको छ । 

धेरैले कोरोनापनि कृषिमा लगानी विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने जोड दिँदै आएका छन् । यसैक्रममा बुटवल उपमहानगरपालिकाले कृषि कर्ममा युवालाई आकर्षित गर्ने उद्देश्यका साथ जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
 बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवर्द्धनको यो कार्यक्रमले युवालाई किसानमा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । 
अहिले महामारीले कृषि कर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघि बढाएको यो कार्यक्रमलाई अर्थपूर्ण छ ।

किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कामहरु भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् ।

आफ्नै भूमिमा काम पाइदैन भन्दै युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई बदल्नका लागि यसखालका कार्यक्रम प्रभावकारी हुने प्रमुख सुवेदीको विश्वास छ ।

बुटवल उपमहानगरपालिकाले आव ०७५÷०७६ देखि नै बुटवलका बाझो जग्गा तथा खेति नगरिएका जग्गाको सदुपयोग गरि कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो ।

उत्पादनका आधारमा अनुदान दिनका लागि उपमहानगरका कृषि विकास शाखाका प्रमुख सन्तोष जिसीको नेतृत्वमा प्रस्तावित क्षेत्रको अनुगमन हुँदै आएको छ । गत वर्ष २५ जनाले जग्गा भाडामा लिएर खेती गरेका थिए । यो वर्ष लकडाउनको अवधिमा मात्रै १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भन्दै सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख जिसीले जानकारी दिएका छन् ।

कम्तिमा चार देखि २२ कट्टासम्म जग्गामा खेती गर्नेगरि सम्झौता भएको छ । प्रतिकट्टा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिइएको छ ।

 अरुको जग्गा भाडामा लिएर खेती गरेका बुटवल–११ नहरपुरका किसान आत्मराम सापकोटाले लकडाउनकै अवधिमा झण्डै एक हजार क्वीन्टल टमाटर मात्रै बिक्री गरिसकेको बताए ।

सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने गरि बुटवलले पहल गरिरहेको छ । सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित गर्दै सहरीमार्फत बजारिकरणका कामलाई अझ व्यवस्थित गरिने नगरपालिको तयारी छ ।   
यसैगरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जग्गा नहुनेलाई कौसीमै तरकारी खेती गर्ने सीप तथा प्राविधिक सहयोग गरिएको बताए ।उनले कृषि बाली उत्पादन, प्रशोधन तथा बजारीकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको बताए ।

जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको र त्यहाँ घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ ।